संक्षिप्त परिचय

मुस्ताङ जिल्लाको संक्षिप्त परिचय

मुस्ताङ जिल्ला नेपालको प्रदेश नम्बर ४ अन्तर्गत पर्ने हिमाली जिल्ला हो । धौलागिरी हिमाल (८१६७ मी.) र निलगिरी हिमाल (७०६०) पार गरेर आउनु पर्ने भएकाले यस जिल्लालाई हिमालपारीको जिल्लाको नामले चिनिन्छ । मुस्ताङ जिल्लामा रहेको प्राचीन गुफाहरू र वस्तिहरूको पुरातात्विक अन्वेषणले यस जिल्लाको ईतिहास करिव ३००० वर्ष पुरानो भएको पुष्टि हुन्छ ।

बिश्व मानचित्रमा मुस्ताङ जिल्लाको अवस्थिति २८ डिग्री ३३ मिनेट ५१ सेकेण्ड देखि २९ डिग्री १९ मिनेट ५२ सेकेण्ड उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट ५४ सेकेण्ड देखि ८४ डिग्री १४ मिनेट ५८ सेकेण्ड पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला पर्ने यस जिल्लाको कुल क्षेत्रफल ३५६.२१ वर्ग कि.मी. रहेको छ । जुन नेपालको कुल क्षेत्रफलको २.४२ प्रतिशत हो । जिल्लाको सदरमुकाम जोमसोम समुन्द्र सतहदेखि २,७१० मीटर उचाइमा रहेको छ । समुन्द्र सतहदेखि २०१० मी. (घाँसा) देखि ८१६७ मी.(धौलागिरी) उचाईमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुख्खा ठण्डा रहेको छ ।

जिल्लाको तल्लो भागमा तुलनात्मक रूपमा बढि बर्षा भए तापनि माथिल्लो भागमा अत्यन्त कम बर्षा हुन्छ । औषत बार्षिक बर्षा तल्लो भागमा २०० मी.मी. र माथिल्लो भागमा हिमपात हुन्छ । गर्मी महिनाको अधिकतम तापक्रम २६ डिग्री से. र हिउँद महिनामा न्युनतम -९ डिग्री से. सम्म झर्दछ । हावापानी अनुसार हिमालको नजिक कोणधारी वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ । यस जिल्लाको वन क्षेत्र कुल क्षेत्रफलको ३.२४ प्रतिशत अर्थात १२,३२४ हेक्टर रहेको छ । जैविक विविधताले धनी यस जिल्लामा करिव १,२२६ प्रजातिका वनस्पति रहेको अनुमान छ । करिव ४७४ जातिको चरारुरुङ्गी रहनुको साथै जीव जन्तुमा हिमचितुवा, कस्तुरी मृग, जंगली घोडा आदि पाइन्छन् । नयाँ संरचना अनुसार ५ गाउँपालिकाहरू: १, घरपझोङ (केन्द्र जोमसोम), २,थासाङ (केन्द्र कोवाङ),३, दालोमे (केन्द्र चराङ), ४,लोमन्थाङ (केन्द्र लोमन्थाङ) र ५,वाह्रगाउँ मुक्तिक्षेत्र (केन्द्र कागवेनी) हुन । एउटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०६८ को जनगणना अनुसार कूल जनसंख्या १३,४५२ रहेको छ ।

जनगणना २०६८ अनुसार यस जिल्लाको कूल जनसंख्या यस प्रकार रहेको छ : महिलाको जनसंख्या ६३५९ पुरूषको जनसंख्या ७०९३ , कुल घरधुरी संख्या ३३०५, जिल्लाको कुल क्षेत्रफल ३५७३ वर्ग कि.मी., औषत जनसंख्या प्रति घरधुरी ४.०१, लैङ्गिक अनुपात १११.५, जनसंख्या वृद्धिदर १.० जनघनत्व प्रति वर्ग कि.मी. ४ जना  रहेको छ ।

जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैयाहरू

मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, टिटी ताल, निलगिरी हिमाल, धौलागिरी हिमाल, ठिनी घरपझोङ गढी, कैसाङ क्याम्प (खम्पा क्याम्पु), ढुम्बा ताल, तिलिचो ताल, तिलिचो बेसक्याम्प, थारूघाङ्ग भ्युटावर, तातोपानी कुण्ड, रक क्लाइम्विङ, फुक्केलिङ पुरानो गाउँ आदि रहेका छन् ।

वनस्पती तथा जैविक विविधता

जिल्लाको हावापानी शितोष्ण खालको भएको हुनाले तल्लो भेग तिर मिश्रति कोणधारी वनस्पती धुपी सल्लो पाइन्छ भने माथिल्लो भेगतिर १०,००० फिट भन्दा माथि भोटेपिपल, वैंस काँडेदार वुट्यान र घाँस मुख्य रुपमा रहेको छ । जिल्लामा पाइने मुख्य वनस्पतीमा सल्लो, धुपी, वैंश, भोजपत्र, लालीगुराँस, काँडेदार वुट्यान, घाँस, भोटे पिपल रहेका छन् ।

वन्यजन्तु

हिउ चितुवा, कस्तुरी, खरायो, घोरल, बन भेडा, भालु, नाउर, वाघ आदि जिल्लामा पाइने मुख्य वन्य जन्तुहरु हुन् ।

वन्यपक्षी

डाँफे, मुनाल, च्याखुरा, कालीज आदि पनि यस जिल्लामा पाइने वन्यपंक्षीहरु हुन ।

जडीवुटी

यहाँको वनमा महत्वपूर्ण जडीवुटी जस्तै यार्चागुम्वा, पाँचऔले, निरमसी, सतुवा, चिची, तोरा, चुत्रो, कुट्की, कुठ, भोजा, जमानेा, कुकुर्को वीख, हारा, सोमलता, चुल्ठे अमिलो, कुरिलो, घोराङमार्चा, आदि जस्ता प्रशस्त वहुमूल्यवान र उपयोगी जडिवुटीहरु पाइन्छ ।

पाल्तु पशुपंक्षी

यहाँ पालिने पाल्तु पशुमा याक, नाक, झोपा, चौरी, घोडा, लुलु, खच्चड, गधा, भेडा, च्याङ्ग्रा, भैसी, गाई, वंगुर आदि हुन् भने पंक्षीमा कुखुरा र हाँस पनि पालिन्छन्

सामाजिक जनजीवन

 उच्च पहाडी दूर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ,विष्ट र ठकुरी जातीहरुको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरुको वसोवास भएको पाईन्छ । गुरुङ् तथा थकाली जातीहरु वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरुले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन ।


Skip to toolbar